दलहरु चुनावी समिकरणको तयारीमा, नेताहरु गुटगत छलफलमा

मुख्य खबर NFM संवाददाता आइतवार साउन २२, २०७९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख राजनीतिक दल चुनावको तयारीमा जुटेका छन् । गठबन्धन दलभित्र चुनावी समिकरणको भागबण्डाको छलफल सुरु भएको छ भने नेकपा एमाले कसरी प्रतिस्पर्धामा उत्रिने भन्ने रणनीति बनाउन लागेको छ ।

सत्तागठबन्धनमा रहेका दलहरु सिट बाँडफाटका केन्द्रित हुन थालेका छन् भने प्रमुख प्रतिपक्ष दल एमालेपनि सत्ता इतरको गठबन्धन बनाउने तयारीमा लागेको छ ।

साना दलहरु पनि कसरी अघि बढ्ने भन्ने रणनीति बनाउँदै छन् । विभिन्न पार्टीका शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेता निर्वाचन केन्द्रित गतिविधिमा जुट्न थालेका छन् । निर्वाचन आयोगको सिफारिसमा सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ ।

राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका साथै साना एवं स्वतन्त्र उम्मेदवार हुन चाहने नेताले पनि निर्वाचन क्षेत्रमा चुनावी गतिविधि सुरु गरेका छन् ।

चोक–चोकमा चियासँगै निर्वाचनसम्बन्धी चर्चाले तीव्रता पाएको छ । आ–आफ्ना समर्थक एवं आफूनिकटका नेताका राम्रा र विपक्षीका नराम्रा कुरा गरेर सर्वसधारणलाई आफ्नो पक्षमा पार्ने विषयमा कुराकानीकेन्द्रीत छ । निर्वाचन मिति घोषणा भएसँगै पार्टीले प्रदेश तथा जिल्लास्तरमा प्रशिक्षण, भेला, बैठकलगायत गतिविधि सुरु गरेको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।

सत्तारूढ कांग्रेसका नेता बालकृष्ण खाँण निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन सबै एक हुनुपर्ने बताउनुभयो । कांग्रेसले आफ्ना उम्मेदवार विजयी गराउन संगठन, भ्रातृसंगठनलगायतलाई परिचालन तथा भेला तयारी गरिरहेको उहाँको भनाइ छ । नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महरा निर्वाचनको आन्तरकि तयारीमा पार्टी जुटेको बताउनुभयो ।

दल दर्ता आजदेखि
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ । प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि आजबाट साउन ३१ गतेसम्म दल दर्ता गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् ।

दल दर्ता गर्न काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र जानुपर्ने छ ।

दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने जनाइएको छ ।

Leave a Comment