प्रचण्डको दिल्ली यात्रा किन ?

मुख्य खबर NFM संवाददाता शुक्रबार असार ३१, २०७९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली यात्रामा निस्कँदै हुनुहुन्छ । सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड शुक्रबार दिल्ली जान लाग्नु भएको हो ।

दिल्ली र भाजपासँगको सम्बन्ध सुधारका विषयमा दिल्लीमा छलफल हुनेछ । चिनियाँ उच्चस्तरीय टोली चारदिने नेपाल भ्रमण सकेर फर्केलगत्तै प्रचण्ड दिल्ली जान लाग्नु भएको हो ।

प्रधानमन्त्री पत्नी आरजु देउवा राणासमेत दिल्लीमा रहेका बेला हुन लागेकाले दाहालको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रचण्डको भ्रमण माओवादी–भाजपा सम्बन्ध सुधारमा केन्द्रित हुने औपचारिक जानकारी दिइए पनि सत्ता गठबन्धनको निरन्तरतासँग समेत जोडिएको छ । भारत अहिलेकै गठबन्धनको निरन्तरता चाहन्छ, आगामी निर्वाचनपछि पनि गठबन्धनको सुनिश्चितता चाहन्छ ।

तीन दिने भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र भाजपा अध्यक्ष जेपी नड्डासहितका नेतासँग भेटघाट गर्नुहुनेछ ।

भाजपानिकट थिंक ट्यांक इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । आइतबार बिहान प्रधानमन्त्री मोदी र त्यसलगत्तै भाजपा अध्यक्ष जेपी नड्डालाई भेट्ने तयारी छ ।

Leave a Comment