काठमाडौं । नेपाली कांग्रेसमा नयाँ बरियताक्रम तोकिने भएको छ । पार्टीभित्रको मर्यादाक्रमबारे विवाद भएपछि नेपाली कांग्रेसमा नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी छ । केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा नयाँ मर्यादाक्रम निर्धारणका लागि मस्यौदा प्रस्तुत भएको छ । आज बुधावर त्यसमा छलफल हुनेछ ।
यसअघि मर्यादाक्रममा को माथि वा तल हुने भन्नेबारे नेताहरूबीच विवाद भएपछि सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिनु भएको थियो ।
सहमहामन्त्रीत्रय परियार, उपाध्याय र पाण्डेले मर्यादाक्रमको मस्यौदा तयार गरी केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेका हुन् ।
मंगलबारको बैठकमा सहमहामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गर्नु भएको छ। उहाँले विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारको मर्यादाक्रम र वर्तमान तथा भूतपुर्व पदको आधारलाई मर्यादाक्रम निर्धारणको मस्यौदा तय गरेको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।
मस्यौदाअनुसार कांग्रेसमा वरिष्ठ नेता हुने व्यवस्था हटाइएको छ । हाल सभापति देउवाले महाधिवेशनमा सहयोगी बनेका नेता रामचन्द्र पौडेललाई वरिष्ठ नेताको रुपमा दोस्रो वरियतामा राखेका छन् ।