बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा रोकिएको स्थानीय तहको निर्वाचन आज फेरि हुँदैछ । आज बिहीबार स्थानीय तह निर्वाचनका लागि पुनः मतदान हुन लागेको हो । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइनुका साथै मंगलबारदेखि संयुक्त सुरक्षा टोलीले गस्तीसमेत गरिरहेका छन् ।
यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।
यतिबेला भने सुरक्षा व्यवस्था कडा देखेर आम मतदाताहरूमा आफूले चाहेको उम्मेदवारलाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने विश्वास बढेको छ ।
यसअघिको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित प्रहरी र सशस्त्रका प्रमुखहरूलाई हटाएर नयाँ अधिकारीहरू पठाएको छ ।
नगरप्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् । बुढीगंगामा प्रतिस्पर्धा पेचिलो हुनुमा खाती महान्यायाधिवक्ता खम्मबहादुर खातीका दाजु हुनु र बानियाँ एमालेका प्रभावशाली नेता कर्ण थापाका नातेदार हुनुले पनि प्रभावित गरेको धेरैको बुझाइ छ ।