प्रदेश र संघको निर्वाचनका लागि नयाँ मिति प्रस्ताव

मुख्य खबर NFM संवाददाता बुधबार असार २२, २०७९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन एकै पटक गर्न नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि कार्तिक ३० गते गर्ने गरि तयार गरेको प्रस्तावलाई संसोधन गरेर मंसिर २ वा ५ गतेमध्ये एक दिन गर्न आज बुधवार सिफारिस गर्दैछ । निर्वाचन आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

आयोगले मिति सिफारिस गरे पनि १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने आयोगले जनाएको छ । आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको निर्वाचन आयोगका सहप्रवक्ता सुर्य प्रसाद अर्यालले नेपाल एफएम नेटवर्कलाई जानकारी दिनुभयो । उहाँका अनुसार आयोग सबै तयारी पुरा गरेर मिति सिफारि गर्ने निस्कर्ष पुगेको हो । निर्वाचनको मितिका विषयमा जोतिषिलाई समेत परमर्श लिने काम भइरहेको स्रोतको दावी छ ।

छिटफुट घटना बाहेक पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएको निर्वाचन आयोगले संघीय र प्रादेशिक निर्वाचन पनि एकै चरणमा गर्नका लागि सिफारिस गर्न लागेको हो । यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।

Leave a Comment