बर्षाले तराईमा डुवान-पाहाडमा पहिरो, १२ जिल्लामा आवागमन ठप्प

मुख्य खबर NFM संवाददाता बिहिबार असार १६, २०७९

काठमाडौं । अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । गएरातिदेखि देशका अधिकांश भागमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले देशका अधिकांश ठाउँमा पहिरो गएको छ भने, पूर्वी तराइ क्षेत्र डुवानमा परेको छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ ।

प्रदेश १, मधेश, बागमती, गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिममा वर्षा भइरहेको छ । आज बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले नेपाल एफएम नेटवर्कलाई बताउनुभयो ।

मोरङ
अस्तिदेखि लगातार पानी परिरहेकाले मोरङमा पनि ३ सय ६७ घरधुरी पूर्ण रुपले डु्बानमा परेका छन् । डुबानमा परेको घरबाट १ हजार ३ सय ६८ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार नजिकैको प्रहरी युनिटलाई सक्रिय बनाएर उद्धारमा परिचालन गरिएको छ । नागरिकलाई सचेत रहन आग्रह गर्दै जोखिम भए सुरक्षा लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई तैनाथ राखिएको उहाँले जानकारी दिनुभयो ।

सुनसरी

लगातारको वर्षाका कारण सुनसरी जिल्लाका अधिकांश स्थान डुवानमा परेको छ । पानीको निकास नहुँदा र खोलाको बाढी बस्तीमा छिर्दा पूर्व–पश्चिम जिल्लाको राजमार्ग दक्षिणका अधिकांश मानव बस्ती डुवानमा परेको हो ।

तीन दिनदेखिको अविरल वर्षातका कारण भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगरा गाउँपालिका, बर्जु गाउँपालिकाका एकहजार भन्दा बढी घर डुवानमा परेका छन् । बाढीका कारण जिल्लाका तीन सय भन्दा धेरै घरपरिवार विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले नेपाल एफएमलाई जानकारी दिनुभयो ।

झापा

बाढीले झापामा पनि धेरै बस्तीहरु डुबानमा परेका छन् । पानी नरोकिएकाले जोखिम अझै कायम रहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नेपाल एफएम नेटवर्कलाई बताउनुभयो । झापाका अनुसार बुधबार बिहानैदेखि रतुवा खोलाको बाढीले गौरीगंज ५ श्यामटेलीमा कटान र डुबान सुरु गरेको छ ।

बाढी पस्दा करिब २ सय घर धुरी डुब्ने र ५ सयभन्दा बढी प्रत्यक्ष प्रभावित बन्ने जोखिम छ । गौरीगञ्ज गाउँपालिका–१ को वालुबारी, बिर्खेबस्ती र टप्पु, गौरीगंज –२ भाकुरमारी, पिण्डलगुड्डु र वडा नम्बर–४ बेलगाछीका बाढी प्रभावित करिब ७ सय परिवारलाई सुरक्षित स्थानमा लगेर छ । झापामा अविरल वर्षा जारी छ । मेची, रतुवा, कमल, कनकाई, मावा, निन्दा जस्ता ठूला नदीहरुमा पानीको सतह बढेर सर्वसाधारणका घरसम्म जलमग्न भएको छ ।

१२ जिल्लामा सडक अवरुद्ध
अविरल वर्षासँगै आएको पहिरोका कारण १२ जिल्लामा सडक अवरुद्ध भएको छ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ ।

यस वर्षको वर्षासँगै ती मध्ये सात ठाउँमा साना–ठूला पहिरो खसिसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिम देखिएको छ । ती ठाउँमा यस वर्ष पहिरो खसेर दुःख दिइरहेको छ ।

तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिनुभयो । त्यसका साथै सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेको छ । ती १७ ठाउँमा गएको वर्ष पहिरो खसेको थियो ।

 

Leave a Comment