काठमाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ । बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ ।
बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा वाग्मती प्रदेशका काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप अभियान चल्ने छ ।
प्रदेश–१ का झापा, मोरङ, इलाम, सुनसरी, मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्वका बालबालिकालाई खोप लगाइने छ। त्यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रूपन्देही, बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान चल्ने छ भने सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बालबालिकालाई लगाइने खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा का निर्देशक विवेक कुमार लालले बालबालिकामा प्रयोग हुन लागेको खोप सबै निकायबाट सुरक्षित प्रमाणीत भएको बताउनुभयो ।
बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गरे ।