देउवाको मन्त्रिपरिषद्‌मा अर्का गैरसांसद, नेकपा एसमा विवाद

मुख्य खबर NFM संवाददाता सोमवार जेष्ठ २३, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भागबण्डा पुर्याउन मन्त्री फेरबदल गरेपछि गैरसांसदको पनि प्रवेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्‌मा गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउनका लागि सिफारिस गरी प्रधानमन्त्री देउवासमक्ष पठाएको छ ।

सत्तारुढ एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो । त्यसरी प्रधानमन्त्री देउवालाई बुझाइएका मन्त्री बन्नेहरूको सूचीमा संघीय सांसद नरहेका अछामका कुँवर पनि छन् । एकीकृत समाजवादीले कुँवरलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरेको हो । यसअघि राष्ट्रिय सभा सदस्य रहनु भएका कुँवरकाृ गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा भएको छ ।

देउवा मन्त्रिपरिषद्‌मा यसअघि नै गैरसांसद मन्त्री बनेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला गैरसांसदका रूपमा मन्त्री छन् ।

एकीकृत समाजवादीको सचिवालय बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीलाई सहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्री बनाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई फिर्ता बोलाएर राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई बढुवा गरिएको छ । नेकपा एसमा भने विवाद उत्पन्न भएको छ । मन्त्री पदलाई आलोपालोमा लगाएको भन्दै मन्त्री विरोध खतिवडा, रामकुमारी झार्की, प्रेम आलेले असन्तुष्टि जनाएका छन् ।

संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ । मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्छ । उक्त अवधिभित्र सांसद बन्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर ती व्यक्ति पुनः मन्त्रीमा नियुक्त हुन अयोग्य हुने संविधानमा व्यवस्था छ ।

Leave a Comment