बलात्कारको मुद्दामा हदम्याद हटाउन संसदमा संकल्प प्रस्ताव दर्ता

मुख्य खबर NFM संवाददाता मङ्लबार जेष्ठ १७, २०७९

काठमाडौं । बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका चार जना महिला सांसदले प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् ।

हदम्यादको कानुनी प्रबन्धका कारण बलात्कार पीडितले न्याय नपाएको र अपराधीहरूको मनोबल बढिरहेको भन्दै सांसदहरू डिला संग्रौला पन्त, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो । प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिब कारण देखाइ उजुर गर्न आएमा दर्ता गरी अनुसन्धान गर्न सक्ने गरी कानुन संशोधन गर्नुपर्ने उल्लेख छ ।

कानुन समयअनुसार परिवर्तनशील भएकाले समयअनुसार परिवर्तन गर्न सकिएन भने त्यस्तो कानुन न्यायोचित हुन नसक्ने भएकोले संकल्प प्रस्ताव दर्ता भएको सांसद डिला संग्रौलाले नेपाल एफएम नेटवर्कलाई जानकारी दिनुभयो । उहाँका अनुसार संकल्प प्रस्ताव पारित भए कानुनी प्रक्रियामा जाने छ ।

संकल्प प्रस्तावमा आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गर्न, सरकारलाई आवश्यक दिशानिर्देश गर्न र समयमै कानुन संशोधन गरी बलात्कारजस्ता जघन्य अपराधका पीडितलाई न्यायको मार्ग प्रशस्त गर्न प्रस्ताव गरिएको छ । पछिल्लो समय बलात्कार घटनामा हदम्याद घटाउन सरकारमाथि दवाव परेको छ ।

Leave a Comment