तारा एयरको जहाज थासाङ दुर्घटनाग्रस्त अवस्थामा

मुख्य खबर सोमवार जेष्ठ १६, २०७९

आइतबार विहान देखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर खोजी तथा उद्धारमा खटिएको टोली त्यहाँसम्म पुग्न सकेको थिएन । आज बिहान त्यही क्षेत्रमा दुर्घटनाग्रस्त जहाज किसानहरुले फेला पारेको शर्माले बताउनुभयो ।

उहाँका अनुसार मानापाथी हिमालको फेदीमा कात्तिक २८ गते हिमपहिरो गएकै स्थान नजिकै दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको हो । त्यहाँको तस्वीर प्राप्त भएपछि हवाई उद्धार टोली स्थलमार्गबाट पनि गइसकेको छ । हिजो बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । हिजो बिहानैबाट पुनः खोजी थालिएको थियो ।

९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् । उनीहरुको अवस्थाबारे हालसम्म कुनै जानकारी आएको छैन ।

Leave a Comment