काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आलोचना गरेको भन्दै एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् ।
संघीय संसदको आजको बैठकमा बोल्दै मन्त्री बडूले हिजोको बैठकमा ओलीले आयल निगमलाई सरकारले खारेज गर्न लागेको निराधार आरोप लगाएको बताउनुभएको थियो । मन्त्री बडूले सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने विषय पूर्णतः आधारहीन, भ्रामक र असत्य रहेको बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री बडूले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गर्नुभएको छ ।
एमाले सांसदहरुले आफ्नो पार्टी अध्यक्षको अभिव्यक्तिलाई स्तरहीन भनेर मन्त्रीले खण्डन गरेको विरोधमा संसद बैठक नै अवरोध गरेका थिए । त्यसपछि बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक मन्त्री बडूले बोलेको ‘स्तरहीन’ शब्द हटाउन सभामुखले रुलिङ गर्ने सहमति भएको हो ।
कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार सभामुख सापकोटाले मन्त्रीले बोलेका ती शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको हो । अहिले फेरी संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफल गरिरहेका छन् ।