संसदमा ओलीको तीन घण्टा- पार्टी हारको रोदनदेखि, सरकारको आलोचनासम्म !

मुख्य खबर भूपेन्द्र शाह बिहिबार जेष्ठ १२, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहिबार प्रतिनिधि सभाको बैठकमा तीन घण्टा लामो भनाई राखेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका अध्यक्ष समेत रहेका ओली सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिका विषयवस्तुलाई सम्बोधन गर्न संसदमा पुगेका थिए ।

दुई पटक संसदको हत्या नै गरेका ओलीले बिहिबार भने संसदमा तीन घण्टा बिताए । स्थानीय निर्वाचनमा नेकपा एमालेले हार व्यहोर्नु परेको रोदन ओलीले संसद मार्फत व्यक्त गरे । उनले हारलाई स्वीकार गर्नुको सट्टा स्थानीय निर्वचनमा सत्तारुढ दलले धाँधली, बुथ कब्जा, नागरिकहरुको हत्या र सुरक्षा व्यवस्था कमजोर रहेको टिप्पणी गरे । विषयवस्तु भन्दा निकै बाहिर गएर विक्षिप्त बनेका ओलीले आफ्नो सम्बोधनको अधिंकाश समय सरकार विरुद्ध खनिए । विगतमा आफैले दुई पटक संसद विघटनको प्रयास गरेका ओलीले सरकारले हिँउदे अधिवेशन अनत्य गरेको प्रति समेत कटू आलोचना गरे ।

सम्बोधनका क्रममा ओलीले चुनावमा धाँधली, बम पड्काएर प्रमुख प्रतिपक्षी एमालेलाई निशेष गरेर चुनाव जितेको आरोप पटक पटक लगाए ।

ओलीले सत्तागठबन्धन दलहरुले ऐन विपरित सरकारले अध्यादेश ल्याएर सभामुख समेत लागेर एमाले विभाजन गरेको आरोप लगाए । उनले आफू र आफ्नो श्रीमतीको नाममा रहेको सम्पती राष्ट्रियकरण गरिएको बताउँदै अरु नेताहरुलाई पनि सरकारको नाममा सम्पती हस्तान्तरण गर्न चुनौती दिए ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम ल्याएको सरकारले विना लक्ष्य र गन्तव्यको जेरी जस्तो भएको टिप्पणी समेत गरे ।  सरकारको नीति तथा कार्यक्रम आशै आशको पुलिन्दा भएको आरोप लगाए । सोही अवसरमा ओलीले तथ्याङ्क नभएर मिथ्याङ प्रस्तुत गरेको समेत आरोप लगाए ।

सम्बोधनका क्रममा ओलीले सत्तापक्ष नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनका नेताहरूमाथि कटाक्ष गर्दै प्रधानमन्त्री देउवाले आफ्नो वडामा कांग्रेस जिताउन नसकेको भन्दै हाँस्यास्पद अभिव्यक्ति समेत दिए । सरकारले ल्याएका नीति तथा कार्यक्रमहरु उचित नभएको र आफ्नो सरकारले नियुक्त गरेका राजदूतहरु फिर्ता बोलाएको प्रति सरकारको आलोचना गरे । ओलीले सरकारको नीति तथा कार्यक्रम शब्दजालको पुलिन्दा, तर तेलमा तारिएको र चास्नीमा डुवाउन बाँकी रहेको जेरी जस्तो भएको उल्लेख गरे । उनले अर्थतन्त्रका सम्बन्धमा बर्तमान गठबन्धन सरकार अराजक भएको आरोप समेत लगाए ।

उनले सरकारले मुल्यबृद्धि गरेको प्रति सरकारकारको कडा आलोचना गरे । ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भारतले मिचेको भूमि फिर्ता ल्याउने कार्यक्रम नराखेको भन्दै सरकारको जवाफ माग गरे । उनले संसदमा सहभागी पूर्व प्रधानमन्त्री र दलहरुलाई समेत कटाक्ष गरेका थिए ।

Leave a Comment