संसदमा वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

आर्थिक बिहिबार जेष्ठ १२, २०७९

काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुने भएको छ । आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९÷०८०को नीति तथा कार्यक्रममाथि संसद्मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

छलफल कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभाको बिहान ११ बस्ने बैठकमा पनि निति तथा कार्यक्रममाथी छलफल हुने जनाइएको छ । भोलिसम्ममा नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक बाध्यता संसदलाई छ । नीति तथा कार्यक्रम पारित भएपछि यही जेठ १५ गते आइतबार संसद्मा बजेट प्रस्तुत हुनेछ ।

Leave a Comment