काठमाडौं । काठमाडौं महानगरपालिकाका ३३ मध्ये २९ वडाको अन्तिम परिणाम आइसकेको छ । चार वडाको गणना जारी छ । मतगणना भइरहेका चारै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा प्रत्यासीभन्दा दोब्बर मतले अगाडि छन् ।
अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् । यहाँ अहिले १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।
ललितपुरमा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन पुनः निर्वाचित भएका छन्। गएराति सम्पन्न मतगणना अनुसार महर्जनले ४२ हजार ७२२ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाएका छन्। उपमेयरमा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले २५ हजार ८४ मत पाएकी छन्। प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाएका छन्।
बालेन शाहद्धारा जारि विज्ञप्ति जस्ताको त्यस्तै
स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।
जीत–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।
दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।
अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ’धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ’बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।
अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।
हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।
अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।