काठमाडौं । महानगर र उपमहानगरको उम्मेदवारहरुमा कसले बाजी मार्ला भन्ने चर्चाको विषय बनेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले ६ वटै महानगरमा दोस्रो स्थानमा छ । काठमाडौंमा स्वतन्त्र अगाडि छ भने ललितपुर, भरतपुर, विरगञ्ज, पोखरा, विराटनगरमा गठबन्धनका उम्मेदवार अगाडी देखिनु भएको छ ।
यी सबै महानगरमा एमाले दोस्रो स्थानमा छ । महानगरपालिका अन्तर्गत् काठमाडौं महानगरमा मेयरमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साहको अग्रता कायम छ । पछिल्लो मत परिणामअनुसार शाहले २० हजारभन्दा बढी मत ल्याउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा करिब १० हजार र नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा ११ हजार भन्दा बढी मतले अगाडी हुनुहुन्छ ।
चितवनको भरतपुर महानगरमा गठबन्धन र एमालेबीच रोचक प्रतिष्पर्धा भइरहेको छ । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले २५ सयभन्दा बढी मतान्तर बढाउनु भएको छ । एमालेका विजय सुवेदीले टक्कर दिइरहनु भएको छ । वीरगञ्ज महानगरमा भने मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले साडे ६ हजार भन्दा बढी मतले अग्रता कायम राख्नु भएको छ । यहाँ एमालेका विजय सरवागी दोस्रो र राप्रपाका गिरीश गिरि तेस्रो स्थानमा हुनुहुन्छ ।
विराटनगर महानगरमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस अगाडी छ । कांग्रेसका नागेश कोइराला ४ हजारभन्दा बढी मतले अगाडी हुनुहुन्छ । एमालेका सागरकुमार थापाले पछ्याइरहेका छन् ।
पोखरा महानगरमा कलम चिन्हबाट उम्मेदवारी दिएका धनराज आचार्यले निरन्तर अग्रता लिएका छन् । उहाँको एमालेका कृष्णबहादुर थापा भन्दा २ हजार मत बढी रहेको छ
ललितपुर महानगरमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस दोब्बर भन्दा बढी मतले अगाडि छ । कांग्रेसका चिरीबाबु महर्जन भन्दा एमालेका हरिकृष्ण व्यञ्जनकार करिब ८ हजार मतले पछि पर्नु भएको छ ।
उपहानगरको नतिजा आउन थाल्यो
उपहानगरको भने नतिजा आउन थालेको छ । दाङको घोराही र बाराको जितपुर सिमरा उपहानगरको नतिजा सार्वजनिक भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका मेयरमा नेपाल माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा नेकपा एमालेका भोलाप्रसाद अधिकारी विजयी भएका छन् ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा पहिलो पटक उपमहानगरपालिकाको परिणाम आएको हो । पौडेलले १८ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् ।
उपमेयरतर्फ एमालेका अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् । अधिकारीको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मेघा शाही रहिन । उनले १५ हजार ८ सय ४२ मत प्राप्त गरेकी हुन् । सो उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन रहेको थियो ।
सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुनः निर्वाचित हुनुभएको छ । चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका छन् ।
उनले ३१ हजार ७ सय २८ मत प्राप्त गर्नु भएको छ । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।