काठमाडौं ।
निर्वाचनमा सत्तारूढ दलहरूबीच सबै पालिकामा तालमेल भएर त्यसको इमानदारीपूर्वक पालना भएको भए चुनावपछिको राष्ट्रिय राजनीतिमा फेरबदल नआउन सक्थ्यो । तर, सत्ता निर्णय अनुसार तालमेल हुन नसक्दा र नतिजामा पनि एकले अर्कालाई घात गरेको विषय बाहिर आउँदा अबको राजनीति फेरबदल हुन सक्ने आकलन गर्न थालिएको छ ।
स्थानीय तह निर्वाचनपछिको राजनीतिक कस्तो होला ? सबै पालिकाको परिणाम नआउँदै विश्लेषण गर्नु र त्यसै अनुसारको भविष्यवाणी गर्नु छिटो हुन्छ । तर, स्थानीय तहको चुनाव मार्फत व्यक्त भएको लोकमतले आगामी राजनीतिलाई नयाँ मोड दिने र दलहरूबीचको समीकरणमा फेरबदल ल्याउन सक्ने राजनीतिक विश्लेषक जैनेन्द्र जीवनको तर्क छ ।
आधा भन्दा पनि कम स्थानीय तहको परिणाम आउँदै गर्दा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धोका भएको टिप्पणी गरिसक्नु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरतपुर महानगरको नतिजा कुरिरहनु भएको छ । त्यसको संकेत प्रचण्डले चितवन पुगेर गरिसक्नु भएको छ । सत्ता गठबन्धनको भविष्य खास गरी महानगरहरूको परिणामले निर्धारण गर्ने देखिन्छ ।
भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी, काठमाडौंमा कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती, विराटनगरमा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा उम्मेदवार बनिरहनु भएको छ । पोखरा नेकपा एसका लागि प्रतिष्ठाको विषय बनेको छ । यी ठाउँमा आफ्ना उम्मेदवार पराजित भए गठबन्धनको निरन्तरतामा अवरोध आउन सक्ने सम्भावनालाई नकार्न नसकिने विश्लेषक जीवनको बुझाई छ ।
गठबन्धनको सहकार्य मात्रै होइन सरकार टिक्ने÷नटिक्ने विषय पनि स्थानीय चुनावको परिणामले निर्धारण गर्न सक्ने उहाँको विश्लेषण छ ।
नेपाल कम्युनिष्ट पार्टी विभाजित भएकाले स्थानीय चुनावमा त्यसको सबैभन्दा बढी लाभ कांग्रेसलाई हुनेमा निश्चित भइसकेको छ ।
त्यो लाभमा बसेर प्रधानमन्त्री शेरबहादुर देउवाले खासगरि प्रचण्डलाई आफैसँग राख्न सके असन्तुष्टि पोख्दै गठबन्धन संघीय चुनावतिर सोझिने नभए अर्को राजनीतिक कोर्स सुरु हुने राजनीति बुझेको विश्लेषकहरुले भन्न थालेका छन् ।