काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना कार्य जारी छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको जेठ ५ सम्म अन्तिम परिणाम आउने निर्वाचन आयोगले जनाएको । अहिले मुख्यतः महानगर र उपमहानगरको उम्मेदवारहरुमा कसले बाजी मार्ला भन्ने चर्चाको विषय बनेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले ६ वटै महानगरमा दोस्रो स्थानमा छ । काठमाडौंमा स्वतन्त्र अगाडि छ भने ललितपुर, भरतपुर, विरगञ्ज, पोखरा, विराटनगरमा गठबन्धनले लिड गरिरहेको छ । यी सबै महानगरमा एमाले दोस्रो स्थानमा छ ।
महानगरपालिकाअन्तर्गत् काठमाडौं महानगरमा मेयरमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साहले अग्रता कायम गरेका छन् । उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् भने सत्ता गठबन्धनका सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।
यस्तै, चितवनको भरतपुर महानगरमा गठबन्धन र एमालेबीच रोचक प्रतिष्पर्धा भइरहेको छ । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाएकी छन् । एमालेका विजय सुवेदीले टक्कर दिइरहेका छन् ।
वीरगञ्ज महानगरमा भने मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम गरेका छन् । यहाँ एमालेका विजय सरवागी दोस्रो र राप्रपाका गिरीश गिरि तेस्रो स्थानमा छन् ।
विराटनगर महानगरमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसले लिड गरिरहेको छ । कांग्रेसका नागेश कोइराला पहिलो स्थानमा छन् भने एमालेका सागरकुमार थापाले पछ्याइरहेका छन् ।
पोखरा महानगरमा कलम चिन्हबाट उम्मेदवारी दिएका धनराज आचार्यले निरन्तर अग्रता लिएका छन् । उनी गठबन्धनका साझा उम्मेदवार हुन् । आचार्यलाई एमालेका कृष्णबहादुर थापाले पछ्याइरहेका छन् ।
ललितपुर महानगरमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस दोब्बर मतले अगाडि छ । कांग्रेसका चिरीबाबु महर्जन पहिलो स्थानमा छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले पछ्याइरहेका छन् ।