बिराटनगर महानगरपालिकामा १६ हजार ३४३ मत गणना गर्दा सात हजार भन्दा बढी मत बदर

मुख्य खबर NFM संवाददाता सोमवार जेष्ठ २, २०७९

बिराटनगर । अहिलेसम्म सबैभन्दा धेरै मत बदर बिराटनगर महानगरपालिकामा भएको छ । विराटनगर महानगरपालिकामा १६ हजार ३४३ मत गणना गर्दा उपमेयर पदको सात हजार भन्दा बढी मत बदर भएको छ । १६ हजार ३४३ मत गणना गर्दा मेयरमा पाँच हजार १४६ र उपमेयरमा सात हजार २११ मत बदर भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बदर भएको अधिकांश मत उम्मेदवार नभएको चुनाव चिह्नमा परेका थिए । १६ हजार ३ सय ४३ मत गणना गर्दा विराटनगरको मेयरमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले पाँच हजार १८३, एमाले उम्मेदवार सागर थापाले तीन हजार ६६७, स्वतन्त्र उम्मेदवार उमेश यादवले एक हजार ७२० र राप्रपा उम्मेदवार प्रह्लाद साहले ८३२ मत पाएका छन् ।

वडा अध्यक्षमा भने बदर मत तुलनात्मक रुपमा कम छ । सूचना अधिकारी बुढाथोकीका अनुसार मतगणना सकिएका १९, १८,१७ र १६ नम्बर वडा अध्यक्षको मत कम बदर भएको हो ।

वडा नम्बर १९ मा उपप्रमुखमा १९३८ मत बदर भएको छ । प्रमुख पदमा ८५३ मत बदर भएको छ । सो वडाको वडाध्यक्षमा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन् । वडाध्यक्ष पदको ३०८ मत बदर भएको थियो ।

नेपाली कांग्रेस विराटनगरका नगर सभापति दीपक चापागाई मत बदर हुने डरले गठबन्धन उम्मेदवारले एक छापे मत हाल्दा गठबन्धनको मत धेरै बदर भएको बताउँछन् ।

Leave a Comment