काठमाडौं । सत्तारुढ पाँच दलिय गठबन्धनले गठबन्धनको निर्णय अनुसार नै उम्मेद्वारी मनोनयन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवाास वालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले उम्मेद्वारहरुभाागबण्डा अनुसारनै दर्ता गर्न निर्देशन दिएको हो ।
बैठकले देशभर उम्मेदवारको मनोनयन दर्ता गर्दा गठबन्धनको निर्णयअनुसार गर्न सबै दलका आ–आफ्ना संयन्त्रमार्फत् निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘बैठकमा पाँच दलको भावना र मर्म अनुसार अगाडि बढ्ने र कतै आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने, ‘जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडि बढाएर पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ । केही असमझदारीहरु छन्, सिट थोरै छ । योगदान गरेका धेरै साथीहरु हुनुहुन्छ । स्वाभाविक रुपले उहाँहरुको आकांक्षा हुनुलाई अन्यथा ठहर्याउन सकिन्नँ । तर पार्टीको जुन मर्यादा छ, अनुशासन छ । र अहिलेको जुन आवश्यकता छ, त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ, त्यो निर्णयलाई पालना गरेर अगाडि बढ्नुको विकल्प छैन ।’
सत्ता गठबन्धन दलले महानगर र उपमहानगरपालिकामा उम्मेद्वारीका लागि भागबण्डा गरेको थियो । स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिने समय आज अन्तिम रहेको छ ।