काठमाडौं । स्थानीय तह चुनावमा सिट तालमेल गर्ने सत्ता गठबन्धनको निर्णयले नेपाली कांग्रेसमा कलहको विउ रोपेको छ । महानगर र उपमहानगरपालिकामा गरेको सहमतिसँगै नेपाली कांग्रेसभित्र असन्तुष्टी बढेको हो । असन्तुष्टि साम्य नभए जितका लागि गरेको गठबन्धन हारमा परिणत हुने कांग्रेसकै नेताहरुको टिप्पणी छ ।
आफ्नो पकड बलियो रहेका ठाउँमा तालमेल गरेर अरुलाई सिट दिएको आरोप कांग्रेसको नेतृत्वलाई लागेको छ । विशेष गरेर चितवन र पोखरामा देखिएको असन्तुष्टी मिलाउन कांग्रेसलाई कठीन भइरहेको छ । कार्यकर्ता तहमा मात्रै होइन कांग्रेसका नेताहरुमा समेत असन्तुष्टि देखिएको छ ।
सत्ता गठबन्धनको बैठकमा निरन्तर जस्तो सहभागी हुँदै आएका कांग्रेस महामन्त्री गगन थापा पछिल्ला केही दिनयता बैठकमा उपस्थित भएनन् । स्थानीय निर्वाचनमा गठबन्धन गर्नु हुँदैन भन्ने मत थापाको छ ।
नेता शेखर कोइरालालाई पनि चुनावी तालमेल गर्ने निर्णय मन परेको छैन । २०७४ सालको स्थानीय तहको चुनावमा पनि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । तर अघिल्लो पटक माओवादी केन्द्रलाई भोट हालेका कांग्रेसका कार्यकर्ता यस पटक आफ्नै चुनाव चिह्नमा मतदान गर्ने पक्षमा छन् । चितवनको भरतपुरमा त्यो अवसर नपाउने भएका छन् ।
नेता सुन्ने पक्षमा छैनन
स्थानीय तहबाट जतिसुकै असन्तुष्टीका आवाज आए पनि कांग्रेसको केन्द्रीय नेतृत्व अर्थात संस्थापन पक्षा त्यसलाई सुन्ने पक्षमा छैन । गठबन्धन दलबीच भएको तालमेल बाध्यता भएकाले यसले समग्र पार्टीलाई नै फाईदा पुग्ने जिकीर संस्थापन पक्षको छ । गठबन्धन दलबीच सकेसम्म सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति छ । तर केन्द्रले ६ महानगर र ११ उपमहानगरपालिको मात्र तालमेलसम्बन्धी निर्णय गरेको छ ।
बाँकी सबै स्थानीय तहमा त्यही शैली अपनाए कार्यकर्ता तहकाठ ठूलो विद्रोह हुने कांग्रेसका एक नेताले बताए । ‘महानगर र उपहानगर मात्रै कार्यकर्ताको भावना विपरित तालमेल भए जसो तसो असन्तुष्टि साम्य होला ’ उनले भने ‘तर अरु स्थानीय तहमा नेता तथा कार्यकर्ताको भावना विपरित तालमेल सहज देखिँदैन ।