कम्युनिष्ट स्थापानकै दिन मदन-आश्रितको सालिक तोडफोड

राजनीति शुक्रबार बैशाख ९, २०७९

हेटौंडा । नेपालमा आज कम्युनिष्ट पार्टी स्थापना दिवसको ६४ वर्ष पूरा भएकोछ । कम्युनिष्ट पार्टी स्थापनाकै दिनमा नेपालमा कम्युनिष्ट पार्टीका हस्तीका रुपमा चिनिएका मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड गरिएको छ ।

हेटौंडा–९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको अर्धकदको प्रतिमा तोडफोड भएको हो। जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ।

तोडफोड कसले र किन गरेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। बिहान पार्कमा मर्निङ वाकमा पुगेका स्थानीयले प्रतिमा तोडफोड भएको अवस्थामा देखेपछि पार्क ब्यवस्थापन समितिलाई जानकारी गराएका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई जानकारी गराएको समितिले जनाएको छ। घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अबिनाश अधिकारीसहितको टोली पुगेका छन्।

घटनाको अनुसन्धान शुरु भइसकेको प्रहरीले बताएको छ ।

Leave a Comment