काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस अधानोभ गेब्रेयसस नेपालको ३ दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए। भारत भ्रमण सकाएर उनी आज नेपाल आएका हुन्। भारतमा रहँदा उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तुलसी भाइ भनेर नयाँ नाम दिएका थिए।
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यतालिका रहेको छ। त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।
यस्तै नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ।