स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बस्दै

राजनीति बिहिबार बैशाख ८, २०७९

काठमाडौं । सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बस्दै छ । बैठक बस्ने भनियतापनि समय तय भइनसकेको नेताहरुले बताएका छन् । स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरमा भागवण्डा टुङ्गाएको गठबन्धनले अव निर्णय कार्यान्वयन गराउन गृहकार्य थालेको छ ।

गठबन्धनको भागबन्डामा स्थानीय तहमा असन्तृष्टि चुलीएपछि गठबन्धनको निर्णय कार्यान्वयनकालागि नेताहरु छलफलमा ज्ट्न लागेका हुन् । लामो रस्साकस्सीपछि हिजो बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगर र ११ उपमहानगरमा मेयर र उपमेयर पदको बाँडफाँड गरेको हो । सहमतिअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर तथा वीरगन्ज, भरतपुर र पोखराको उपमेयरमा उम्मेदवारी दिने छ । त्यस्तै, धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढी उपमहानगरपालिकाको मेयरमा तथा जितपुर–सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपमेयरमा पनि कांग्रेसले पाउने छ ।

माओवादीले भरतपुर महानगरपालिकाको मेयर र ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ । उसले जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको मेयर तथा धरान र धनगढी उपमहानगरपालिकाको उपमेयर पनि पाउने छ । एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर तथा काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिनेछ । यसबाहेक हेटौंडा उपमहानगरपालिकाको मेयर तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेयर पनि एकीकृत समाजवादीले पाउने छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले वीरगन्ज महानगरपालिकाको मेयर र विराटनगर महानगरपालिकाको उपमेयर तथा जनकपुर उपमहानगरपालिकाको मेयर तथा कलैया र नेपालगन्जको उपमेयर पाउने छ । गठबन्धनको निर्णय कार्यान्वयन को अवस्था बुझ्न दिनहुजसो बैठक बसीरहने नेताहरुले बताएका छन् । आवश्यकता अनुसार बैठक बस्ने माओवादी केन्द्रका नेता देव प्रसाद गुरुङले नेपाल एफ एम नेटवर्कलाई जानकारी दिनुभयो ।

सत्ता गठबन्धनले सरकार सचालनमा सहयोगका लागी कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्तवमा समिति बनाएको हो ।

Leave a Comment