पाँच हजारका लागि ६१ हजार भोट दिइंदैन-कानूनमन्त्री थापा

अन्तर्वार्ता भूपेन्द्र शाह बुधबार बैशाख ७, २०७९

स्थानीय तहको निर्वाचनका लागि दलहरुलाई उम्मेदवार छान्नै सकस भइरहेका छ ।  स्थानीय तहको निर्वाचनको मिति नजिकिए पनि दलहरुले आफ्ना उम्मेद्वारहरुको टुंग्गो लगााउन सकिरहेको छैन । स्थानीय निर्वाचन मत परिणाम आफ्नो पक्षमा लिने उद्धेश्यले सत्ता गठबन्धन दलहरुले चुनावी तालमेलका लागि कसरत गरेको पनि महिनौं भयो । केन्द्रमा सहमती प्रक्रिया अघि बढाए पनि स्थानीय तहमा पार्टीका पदाधिकारीहरुले त्यसलाई स्वीकार गर्न सकिरहेका छैनन । सत्ता गठबन्धन दलले स्थानीय नेता कार्यकर्ताको भावना विपरित पोखरा महानगरपालिकामा नेकपा एकिकृत समाजवादी पार्टी, चितवनको भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत बनाउने प्रयास गरेसँगै कांग्रेस भित्र नै विवाद चर्किएको छ । सोही क्रममा पोखरा उपमहानगरपालिकाले आन्दोलन चर्काउँदै पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका छन् । सोही सन्दर्भमा गण्डकी प्रदेशका कानून सञ्चारमन्त्री एवम् बिन्दु कुमार थापासँग नेपाल एफएम नेटवर्कले गरेको कुराकानीको सम्पादित अंश: मन्त्री थापा स्वयम् नै पोखरा महानगरपालिकाको नगप्रमुखको दाबेदारी हुनुहुन्छ ।

 

सत्ता गठबन्धनले नेकपा एसलाई पोखरा महानगरपालिकालाई दिने गरि छलफल अघि बढाईएको छ ? तपाईहरुको समर्थन हुन्छ त ?
सत्ता गठबन्धनले केन्द्रबाट जुन निर्णय गर्न खोजिँदै छ । त्यो सिंगो नेपाली कांग्रेस पार्टीका लागि समेत हित हुँदैन । काठमाडौं पछिको दोस्रो सहर र पर्यटकीय महानगरको रुपमा चिनिएको पोखरालाई नेकपा एसललाई दिने निर्णय उचित हुँदै होइन ।

केन्द्र र पार्टीले निर्णय गरिसेपछि त निर्देशन मान्न पर्ला नि  ?

मुलुकको वर्तमान राजनीतिलाई हेर्ने हो भने सत्ता गठबन्धनकै कारण सबैको अस्थित्व पनि जोगिएको छ । गठबन्धन हाम्रो बाध्यता पनि हो । गठबन्धन गरिसकेपछि र पार्टीले गरेको निर्णय मान्नु पर्छ । तर पोखराको स्थानीय कार्यकर्तालाई मनाउनका लाागि एकदमै कठिन छ । नेपाली कांग्रेसलाई माया गर्ने ठूलो जमात र मास बेस पार्टी भएकाले आम कार्यकर्तालाई मनाउन गाह्रो छ । स्वतन्त्र उम्मेद्वार उठाउने र स्वतन्त्र उम्मेद्वारलाई नै विजयी गराउनु पर्छ भन्ने कुरा समेत चलिरहेको छ । यसलाई कसरी साम्य गराउन सकिन्छ भन्ने कुरामा समेत छलफल अघि बढेको छ ।

कांग्रेस केन्द्रको निर्णय नमान्ने हो भने तपाईहरु के बागी उम्मेद्वार उठाउने हो ?

केन्द्रको निर्णय हामी त मानौला तर आम जनता र कार्यकर्ताहरुले स्वीकार गर्दैनन् । जनताको जनभावना विपिरित निर्णय नगर्दा नै राम्रो । त्यसका लागि हामीले केन्द्रसँग खबरदारी पनि गरेको हो । नेपाली कांग्रेस पार्टी नै सिद्धाउने गरि गरिएको गठबन्धनको औचित्य के हुन्छ ? कसरी मान्ने ? गठबन्धन गर्दा न समाजवादीले चुनाव जित्छ, न कांग्रेसले नै चुनाव जित्छ । यो दुर्भाग्यपूर्ण निर्णय हो जस्तो मलाई लाग्छ । यसको जिम्मा बरु स्थानीय तहलाई नै छोडिदिएको भए हुन्थ्यो ।

तपाई आफूलाई पाथी र अरुलाई माना भनिरहनु भएको छ । उहाँहरुको मतभार के कस्तो हो ?

पोखरा महानगरपालिकामा मतभारको अवस्था हेर्दा खेरी कुल मतदाताको संख्या २ लाख ७ हजार छ । जसमध्ये ४६ हजार हामी पहिले नै थियौं । अहिले १५ हजार थपेका छौं । ६१ हजार मतदाताले ५ हजार मतदाता भएको पार्टीलाई मत हालेर उहाँहरुलाई जिताउने भन्ने कुरा मैले सम्भव देख्दिँन ।

 पोखरा महानगरपालिका भित्रको सिंगो कांग्रेस गठबन्धनको निर्णयको विपक्षमा छ भनेर बुझ्दा हुन्छ ?
कांग्रेस पार्टी भनेको मास वेश पार्टी भएको हुँदा भोट नहाल्ने, भोट हाल्न नगदिइने हुन सक्छ । पाँच हजार भोटलाई हामीले ६१ हजार भोट  दिन सक्दैनौं।

अन्तमा के भन्नुहुन्छ ?
केन्द्रले निर्णय सच्याउँदा नै उपयुक्त होला । नेकपा एसका साथीहरुलाई पोखरा महानगरपालिको प्रमुख जिताउने मलाई त एक प्रतिशत पनि विश्वास लाग्दैन । त्यस कारण हाम्रो कुरा भनेको सबै भन्दा ठूलो मतभार भएको हाम्रो पार्टीलाई प्रमुख र उहाँलाई उपप्रमुख दिएको भए प्रमुख उप प्रमुख दिएको भए दुबै जित्न सकिन्छ । उहाँहरुले आफ्नो बलियो मतदाता भएको ठाउँमा दाबी गर्नपर्छ । रुखमा भोट हाल्न नपाएर कलममा भोट हाल भन्न सक्दैनौं । यो गठबन्धनको पैंचो बरु संघमा तिर्न सकिन्थ्यो ।

 

Leave a Comment