काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किन हुनुभएको छ । उहाँ उनी १२ दिनपछि कार्यालय जान लाग्नुभएको हो ।
२४ चैतको मन्त्रिपरिषद् बैठकले उहाँलाई निलम्बन गरेको थियो । मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएसंगै गर्भनर अधिकारीलाई राष्ट्रबैंक फर्कने बाटो खुलेको हो ।
गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिनुभएको छ । न्यायाधीश हरि फुयाँलको एकल इजलासले हिजो ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वाेच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो । सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।