मन्त्री र सांसद बनेकाहरु नै स्थानीय निर्वाचनमा आकांक्षी !

मुख्य खबर भूपेन्द्र शाह मङ्लबार बैशाख ६, २०७९

स्थानीय तहको निर्वाचनका लागि दलहरुलाई उम्मेदवार छान्नै सकस भइरहेका छ । यही बेला केन्द्रीय नेताहरु नै पालिका तहको नेतृत्वको प्रतिस्पर्धामा चाहेका छन् । स्थानीय तहको नेतृत्वमा पुग्न मन्त्री, सांसद तथा प्रदेश सांसद भएकाहरु नै इच्छुक देखिएका छन् ।

गण्डकी प्रदेशका कानुन तथा सञ्चारमन्त्री बिन्दुकुमार थापा केहीदिन अघि पोखरा महानगरपालिकाको मेयर, उपमेयर, वडाका आकाक्षीहरुलाई मिलाउन व्यस्थ हुनुहुन्थ्यो । तर, अस्ति अचानक आफ्नो दल नेपाली कांग्रेसमा मेयरका लागि दावी गर्दै आबेदन दिनुभयो । मन्त्री भएको व्यक्ति मेयरको प्रतिस्पर्धामा किन ? नेपाल एफएमको प्रश्नमा थापाले भन्नुभयो, पोखरा उपमहानगरपालिकामा सत्ता गठबन्धनले भागबण्डा गर्दा नेकपा एकिृत समाजवादीलाई दिने निर्णय गरेको रहेछ । जहाँ २ लाख सात हजार मतदाता मध्ये एकिकृत समाजवादीको बढीमा ५ हजार मतदाता होलान् । त्यसको विरुद्ध पनि मेरो उम्मेद्वारी हो । स्थानीय स्तरको बस्तुस्थिती नबुझि गरेको गठबन्धन हामीलाई कुनै पनि हालतमा मान्य हुँदैन । साथै यो क्षेत्रमा कांग्रेसको पकड भएको र कांग्रेसलाई जिताउनका लागि पनि मेरो उम्मेद्वारी हो ।

गण्डकी प्रदेशकै सांसद कृष्ण थापा र राजीव पहारीले पनि नेकपा एमालेबाट पोखराको मेयर पदको उम्मेदवार हुन पार्टीमा नाम लेखाइ सक्नुभएको छ । गण्डकीका सांसद तथा पूर्व मन्त्री आशा कोइराला पनि तनहुँको शुक्ला गण्डकी नगरपालिकाको मेयरका लागि नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिसमा पर्नु भएको छ । सुनसरी १ बाट प्रतिनिधि सभामा निर्वाचित नेकपा एमालेका सांसद जयकुमार राई धरान उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने तयारीमा जुट्नु भएको छ । एमालेकै झापाका प्रदेश सांसद एकराज कार्की पनि प्रदेश सभा छोडेर बिर्तामोड नगरपालिकाको मेयरमा चुनाव लड्ने तयारीमा हुनुहुन्छ । प्रदेश सांसद भएर जनतासँगको सम्बन्ध जोड्न नसकेकाले स्थानीय तहमा फर्किएको उहाँको तर्क छ । साथै पार्टीले आफ्नो आवश्यकता महसुस गरेकोले गठबन्धन भत्काउनका लागि समेत आफ्नो उम्मेद्वारी रहेको बताउनु भयो ।

मधेश प्रदेशमा पनि प्रदेश सांसद परमेश्वर साहले जसपाबाट जनकपुरधाम उप महानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धामा नाम लेखाइ सक्नु भएको छ । उहाँको दावीको कारण आफ्नै छ । उहाँ भन्नुहुन्छ, मधेश प्रदेशलाई शिक्षाको हब बनाउन र जनकपुर धामलाई विश्वको पर्यटीय स्थलको रुपमा चिनिएको यस क्षेत्रमा थप धार्मिक पर्यटीय क्षेत्रको रुपमा विकास गर्नका लागि मेरो उम्मेद्वार हो ।

बहालवाला मन्त्री र सांसद नै मेयरको रस्साकस्सीमा लागेपछि कार्यकर्ता एउटा संस्थाका लागि जिताएर पठाएका जनप्रतिनिधी कार्यकाल पुरा नहुँदै अर्को तहको निर्वाचनमा आकांक्षा राख्नु गलत भएको बताइरहेका छन् । माथिल्लो तहमा बसेर गरेको कामको अनुभवका आधारमा स्थानीय तहमा उनीहरुले अझ राम्रो नेतृत्व गर्न सके सकारात्मक हुन्छ । तर पद लोलुपताकै लागि एक तहको कार्यकाल पूरा नगरी बीचमै अर्को तहको नेतृत्वमा पुग्नु चाहना राखेको भए चाहिँ गलत परम्परा बस्ने विश्लेषकहरुको तर्क छ ।

Leave a Comment