आज प्रगतिशील साहित्यमा कलम चलाउने हस्ति पारिजातको २९ औँ स्मृति दिवस हो । साहित्यमा पारिजातको नामले प्रख्यात विष्णु कुमारी वाइबा, वि.सं. १९९४ जन्मेकी थिइन । उनले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाइन । त्यसैले पारिजातलाई बहुमुखी प्रतिभा सम्पन्न नारी स्रष्टाको रूपमा चिनिन्छ । पारिजातका कृतिहरूमा प्रगतिवाद, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवाद इत्यादि भावका साहित्यिक अभिव्यक्तिहरू पाइन्छ।
पारिजातको जन्म दार्जिलिङको लिङ्गिया चिया बगानमा वि.सं. १९९४ वैशाख महिनामा भएको थियो। उनको पिता कालूसिंह वाइबा एक चिकित्सक थिए साथै माता अमृता मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा हो, तर लामाले चेक डोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई नेपाली साहित्यमा चिनाउने नाम भने पारिजात हो । पारिजात नाम उनी आफैँले रोजेकी थिइन्।
उनका असङ्ख्य कृतिहरूले उनलाई जीवन्त सुवास दिएर हामीबिच जीवन्त बनाएको छ ।
पारिजातको प्रारम्भिक पढाई भारतको दार्जिलिङमा भएको थियो । वि.सं. २०११ सालमा काठमाडौँ भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट प्रवेशिका र पद्मकन्या कलेजबाट बी.ए. सम्मको पढाई हासिल गरेकी थिइन्।
उनी अङ्ग्रेजी विषयमा एम.ए. गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालयमा भर्ना भइन् तर २६ वर्षको उमेरमा शारीरिक असक्त भएकोले पढाइमा निरन्तरता दिन सकिनन् । उच्चशिक्षा अध्ययनको इच्छा पूरा गर्न नसके पनि उनले लेखनमा विशेष सक्रिय भइन् ।
दर्शनशास्त्र र साहित्य विधाको अध्ययन रुचाउने पारिजातले घरमा बसेर यस्ता ग्रन्थहरू खोजाखोजी पढ्न थालिन् ।
पारिजात एक सङ्घर्षशील साहित्यकार ,लेखक तथा महिला अधिकारकर्मी थिइन् । बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृ स्नेहको खास अनुभवसम्म गर्न पाइनन्। बाल्यकालमै उनले दाजुको वियोगको पीडा पनि खप्नुपर्यो।
काठमाडौँ आगमन पश्चात् पिताको संरक्षण र रेखदेखमा अध्ययनतिर लागिन् । अध्ययनको क्रममा उनले विभिन्न अभावहरूसँग जुध्नुपर्यो। वि.सं. २०२९ सालमा उनका पिताको देहावसान भएपछि उनी पितृ स्नेहबाट पनि वञ्चित हुनुपर्यो।
पारिजातले वि.सं. २०१३ सालमा ‘धरती’ पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्यिक यात्रा सुरु गरेकी थिइन्
उनी भावुक र प्रचुर कल्पना शक्ति भएकी नारी स्रष्टा थिइन् । पानीमा रुझ्दै-रूझ्दै घुम्ने, वन-जङ्गल चहार्ने, जङ्गली फूलहरू टिप्न रुचाउँथिन् । उनको जीवनमा सा-साना घटनाले पनि गहिरो प्रभाव पार्दथ्यो। उनी संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी व्यक्ति थिइन्। उनलाई वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष गरी मन पर्दथ्यो ।
वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्था विरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले निरङ्कुशता विरुद्ध विद्रोहका पक्षमा समूहको निर्माण गरेका थिए। त्यो समूहको नाम ‘राल्फा’ थियो। समूहको नेतृत्व पारिजातले गरिन् ।राल्फा समूहले आफ्ना विद्रोहका स्वरहरू देश-विदेशसम्म पुर्याए । यो सांस्कृतिक रूपान्तरण र नागरिक सचेतना अभियान थियो। यसरी हिँड्ने क्रममा उनले आफ्नो अशक्त शरीर भनेर हिँड्न छोडिनन् । पछि यही राल्फाली यात्राले नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखन फाँटमा महत्त्वपूर्ण भूमिका खेल्न सक्यो र पञ्चायत व्यवस्था ढल्यो ।
बहुदलको आगमन सँगसँगै उनको स्वास्थ्य झनझन खराब हुँदै गयो। हाड-जोर्नीको रोगमा क्षयरोग, अल्सर, दम पनि थपिएर बाँच्न मुस्किल पारिदियो । यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक-पटक भारतमा उपचारार्थ गइन्। त्यो स्वास्थ्यले खास सुधार नहुने भएपछि उनले आफ्नो मनलाई सम्हालिन ।उनी साहित्य र वैचारिक दुवै क्षेत्रमा थिइन् । देश र जनताको जीवनस्तरमा सुधार चाहने पारिजातले श्रमजीवी जनताको पक्षमा आफूलाई समर्पित गर्ने अठोट लिई वि.सं. २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिइन्।
उनीले आफ्नो शारीरिक अस्वस्थताको खासै मतलब नगरी महिला मुक्तिको कार्यमा सक्रिय भइन् ।उनी अखिल नेपाल महिला सङ्घको नेतृत्व गर्दै अध्यक्ष बनिन् र भूमिगत कार्यमा सक्रिय भइन्।
पारिजात वि.सं. २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय थिइन् । वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि उनको सक्रिय भूमिका रहेको थियो।
गीत सङ्गीतमा उनको ठुलो लगाव थियो। वेदना सांस्कृतिक समूहसँग र पछि ई साससँग पटक-पटक भारतका विभिन्न प्रान्तहरू सहित स्वदेश र विदेशमा भ्रमण गरिन्। उनी इन्द्रेणी सांस्कृतिक समाज र ई सासको मानार्थ अध्यक्ष थिइन्।
वि.सं. २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै प्रवाह नगरी उनी सडकमा ओर्लिइन्। राजनीतिक तथा साहित्यिक क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन्। वि.सं. २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी र कालोपट्टि बाँधी विरोध प्रदर्शनमा नेतृत्व गरिन् ।
प्रजातन्त्रको पुनर्बहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातान्त्रीकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ‘प्राज्ञिक सङ्घर्ष समिति’को संयोजक भइन्। प्राज्ञहरूको माग पूरा गराउन प्रयास गरिन्।
पारिजात विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग संलग्न थिइन् । उनी नेपाल मानवअधिकार सङ्गठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य समेत बनिन् ।
अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरूमा आउट राइट इन्टर नेसनल, महिलावादी सङ्घ, महिला भूगोलविद् समाज, एमनेस्टी अन्तर्राष्ट्रिय आदिसँग आबद्ध थिइन्।
उनका सङ्गठित सृजनाले मदन पुरस्कार, गण्डकी पुरस्कार र पाण्डुलिपि पुरस्कार प्राप्त गर्न सफल भए । उनलाई ‘जनमत’ र ‘नेपाल तामाङ घेदुङ सङ्घ’ले अभिनन्दित गरेको थियो। पारिजातद्वारा लिखित पुस्तक ‘शिरीषको फूल’को अङ्ग्रेजी अनुवाद ब्लु मिमोसालाई अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयले पाठ्यक्रममा राखेको थियो।
पारिजातका कृतिहरू
प्रकाशन मिति शीर्षक विधा
वि. सं. २०१४ आकाङ्क्षा कविता
वि. सं. २०२२ शिरीषको फूल उपन्यास
वि. सं. २०२५ महत्ताहीन उपन्यास
वि. सं. २०२५ आदिम देश कथा
वि. सं. २०२९ बैँसको मान्छे उपन्यास
वि. सं. २०३२ तोरी बारी, बाटा र सपनाहरू उपन्यास
वि. सं. २०३५ अन्तर्मुखी उपन्यास
वि. सं. २०३५ सडक र प्रतिभा कथा
वि. सं. २०३५ उसले रोजेको बाटो उपन्यास
वि. सं. २०३५ पर्खालभित्र र पर्खा बाहिर उपन्यास
वि. सं. २०३९ अनिदो पहाडसँगै उपन्यास
वि. सं. २०४३ साल्गीको बलात्कृत आँसु कथा
वि. सं. २०४३ धूपी, सल्ला र लालीगुराँसको फेदमा संस्मरण
वि. सं. २०४४ पारिजातका कविता कविता
वि. सं. २०४५ एउटा चित्रमय सुरुवात संस्मरण
वि. सं. २०४६ परिभाषित आँखाहरू उपन्यास
वि. सं. २०४८ बोनी उपन्यास
वि. सं. २०४८ आधी आकाश महिला सम्बन्धी लेखहरू
वि. सं. २०४९ वधशाला आउँदा जाँदा कथा
वि. सं. २०५० बैंशालु वर्तमान कविता
वि. सं. २०५१ अध्ययन र सङ्घर्ष संस्मरण
वि. सं. २०५४ पारिजात सङ्कलित रचनाहरू विविध
वि. सं. २०६५ सुमित संस्मरण
वि. सं. २०७३ मैले नजन्माएको छोरो प्रतिनिधि कथाहरू
वि. सं. २०७४ पारिजातका प्रतिनिधि कथाहरू प्रतिनिधि कथाहरू
सम्मान र पुरस्कार
शिरीषको फूलको लागि मदन पुरस्कार – वि.सं. २०२२
युग ज्ञान पुरस्कार वि.सं. २०२७
पाण्डुलिपि पुरस्कार वि.सं. २०४९
गण्डकी वसुन्धरा
नेपाली साहित्यकी प्रखर महिला हस्ती पारिजात अङ्ग्रेजीमा एम.ए. पढ्न सुरु गर्दागर्दै प्यारालाइसिसले पीडित भएर अध्ययन पूरा गर्न पाइनन् । उनको निधन लामो समयसम्म प्यारालाइसिसले तल्लीन । वि.सं. २०५० साल वैशाख ५ गते बिहान ४ बजे वीर अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा उनको निधन भयो।
मैले पञ्चायत व्यवस्था रहेकै बेला एक पटक, बहुदलीय व्यवस्थाको आगमन पश्चात् दुई पटक पारिजातसँग अन्तरक्रिया गर्ने मौका पाएकी थिएँ । भेटपछि पारिजातलाई मार्क्सवादी साहित्यकार मात्रै होइन सशक्त महिला अधिकारकर्मी ,सामाजिक आर्थिक रूपान्तरणको अभियन्ता भएको अनुभव गरेकी छु । आज वैशाख ५ ,पारिजातको २९ औँ स्मृति ! पारिजातप्रति हार्दिक श्रद्धा ,सम्मान र श्रद्धाञ्जली !!