काठमाडौं । स्थानीय निर्वाचनमा एमालेलाई पराजित गर्न र आफ्नो पकट जारी राख्ने उद्धेश्य सहित अघि बढेको सत्ता साझेदार नेपाली कांग्रेस भित्र सत्ता गठबन्धनको विषय पेचिलो बन्दै गइरहेको छ ।
पार्टीको निर्देशन विपरित कहिँ आफू अनुकल तालमेल गर्ने त कहिँ बागी उम्मेद्वार सहित स्थानीय निर्वाचनमा होमिने समेतका चेतावनी कांग्रेसका स्थानीय तहका नेता कार्यकर्ताहरुले गरिरहेका छन ।
यसै हो उदाहरणको रुपमा तनहुँ जिल्लामा देखा परेको छ ।
स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल हुने भएको छ ।
एमाले र जोशी समूहबीच भएको प्रारम्भिक छलफलले तालमेल गरेर जाने सहमति भएको हो । तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन भएको छ ।
दुवै पक्षबाट चार चार जना सदस्य रहने गरेर समिति गठन भएको हो । शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताउनुभयो ।
कांग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको जोशीपुत्र दीपराज जोशीको प्रस्टोक्ति छ । उहाँका अनुसार हालसम्म व्यासमा जोशी समूहले मेयर लिने र भानुमा एमालेले मेयर लिने सहमति भएको छ । जोशी समूहको पकड व्यास र भानुमा बढी छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकाले स्थानीय तहको निर्वाचनमा प्राप्त हुने परिणाम निकै अर्थपूर्ण तरिकाले हेरिन्छ ।
कांग्रेसलाई कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूह भारी बन्न सक्ने आँकलन भइरहेका बेला एमालेसँग तालमेल हुने सहमतिले तनहुँको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।