काठमाडौं । स्थानीय तह निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु आ–आफ्ना कार्यक्षेत्रमा पुगेका छन् । निर्वाचनमा खटिएका मतदान अधिकृत लगायतका कर्मचारीहरु आज देखि आ–आफ्ना कार्यक्षेत्रमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई नियुक्त गरेर तालिम दिइसकेको छ । वैशाख ८ गतेदेखि खुल्ने जनाइएको छ । कार्यक्षेत्रमा पुगेर जिल्ला निर्वाचन कार्यालयको सहजीकरणमा स्थानीय तहमा कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन लगायतको काम गर्ने आयोगका सहायक प्रवक्ता सूर्य अर्यालले नेपाल एफ एम नेटवर्कलाई जानकारी दिनुभयो ।
निर्वाचन आयोगका प्रतिनिधिका रुपमा रहने उनीहरुले निर्वाचनको तयारीदेखि मतदान र मतगणना गरी निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् । निर्वाचन आयोगले तयार पारेको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको काम कर्तव्य र अधिकार तोकिएको छ ।
निर्वाचन आयोगले ७७ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । सम्बन्धित जिल्लाका एक नम्बर (बरियतक्रममा सबैभन्दा माथि रहेका) न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने न्याय सेवा र प्रशासन सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृत तोकेर कार्यक्षेत्रमा पठाइएको छ ।