काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको छ ।
शाक्य ०७४ को स्थानीय चुनावमा मेयर जितेका थिए। उनले फेरि एक कार्यकाल आफैँ दोहो¥याउने भन्दै उम्मेदवार बन्न इच्छा देखाएका छन्। पूर्वमन्त्री मानन्धर पनि मेयरको दौडमा छन्। बागमती प्रदेश सभा सदस्य स्थापित पनि मेयर हुन खोजिरहेका छन्। उनले वडा–वडा पुगेर जनताका समस्या र पार्टीले गर्नुपर्ने कामबारे छलफल गर्दै आएको बताइरहेका छन्।
नगर कमिटी अध्यक्ष देउला र जिल्ला कमिटी सदस्य पन्त पनि मेयरका लागि पहल गरिरहेका छन्। यी पाँच जनाको नाम जिल्ला कमिटीमा पठाइएको र त्यहाँबाट केन्द्रमा सिफारिस गरिनेछ। जिल्लाले उम्मेदवार सिफारिसमा परेकाबारे रायसहित प्रदेशलाई जानकारी दिनेछ। प्रदेशले नाम केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवार तय गर्नेछ।
त्यस्तै पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेदवार सिफारिस गर्न आज मतदान हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई नेताको संघर्षले मेयरको उम्मेदवार सिफारिस गर्न सकिएको छैन । पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको टक्करले पोखरामा मेयरको उम्मेदवार सर्वसम्मत गर्न नसकिएको हो ।
उम्मेदवारको टुंगो लगाउन आज अपरान्ह १२ देखि १ बजेसम्म मतदान हुँदैछ । पोखरा महानगर कमिटीभित्रका ११० जना कार्यसमिति सदस्यले मतदान गर्ने छन् ।