एमाले भित्रका इमान्दार नेताहरु बन्दी बनेका छन, हामीले तीनलाई मुक्त गर्नुछ- प्रचण्ड

राजनीति बिहिबार बैशाख १, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै नेता इमान्दारहरु रहेको तर नेतृत्वको बन्दी भएको बताएका छन् ।

बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा उनले एमालेभित्रका इमान्दार नेताहरुलाई बन्दी बनाएको आरोप लगाएका छन ।

 

एमालेका सबै खराब छन् भन्ने पनि सोच्नुहुँदैन,’ प्रचण्डले भने, ‘एमालेभित्र तीन वर्ष हेर्‍यौं नि हामीले को–को कस्ता रहेछन् भन्ने । त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै । तर, त्यहाँ नेतृत्वले यति धेरै भ्रम दिएर राखेको बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई ।’

उनले थपे, ‘प्रतिक्रियावादी, प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वका बन्दी भएका छन्, हामीले तीनलाई मुक्त गर्नुछ । हामीले तीनलाई पनि मुक्त गर्नु छ र तीनको पनि नेतृत्व गर्नुछ । त्यो सोचाइ नराखीकन क्रान्ति अगाडि बढ्दैन ।’

 

प्रचण्डले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूहरुले पाएको भए पार्टी नफुट्ने समेत दावी गरे। ‘परार एमालेसँग एकता गर्दा माओवादी नफुटेको हुन्थ्यो भने हामीले ६०र४० लिन्थ्यौं । त्यस्तो हुन्थ्यो भने पार्टी फुट्दैन्थ्यो । हामी साँच्चै समाजवादतिर लिएर जान्थ्यौं’ उनले भने ।

अध्यक्ष दाहालले भने, ‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौँ । अब तत्काल भूमिगतमा जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन भनेर हामीले एमालेसँग एकता गरेका थियौँ । त्यो एकता कति बेला दुर्घटनामा पर्‍यो भने– जति बेला एमालेभित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थाल्यो, माओवादी जनयुद्धकै कारण नेपालमा उत्पीडित, जाति, वर्ग, क्षेत्र, समुदायले जागरण ल्याएको हो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको हो भन्ने कुरामा सहमत भएको देखियो र अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रीय समितिको दोस्रो बैठकमा सबै पूर्वएमालेको पनि अत्यधिक ठूलो सङ्ख्याले अबको नेता अध्यक्ष प्रचण्ड हो भन्ने ठाउँमा पुग्यो र त्यसपछि षड्यन्त्र सुरु भयो ।

Leave a Comment