काठमाडौं । आज विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ । विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नु भएको छ । नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताउनु भएको छ । हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उनले आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँवर्ष २०७९ प्रारम्भ भएको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गर्नुभएको छ । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वेपरी लक्ष्य रहेको उहाँको भनाइ छ ।
सभामुख अग्निप्रसाद सापकोटाले नववर्ष २०७९ साल प्रारम्भका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन्। २०७८ सालमा आउका अप्ठ्यारालाई हामीले सुझबुझपूर्ण ढङ्गले निकास दिँदै गएको उल्लेख गर्दै उनले भविष्यका लागि आशावादी बनाएर २०७८ बिदा भएको सन्देशमा उल्लेख गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्न गइरहेको उहाँको भनाइ छ ।
पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको बताउनुभएको छ । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा देशवासीका नाममा शुभकामना दिदै ओलीले नयाँ वर्षको यस अवसरमा म जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितासँगै उन्नति सुनिश्चित गर्न नेपाललाई शान्तिभूमि बनाउन आह्वान गर्नुभएको छ । वि.सं २०७९ को अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाल शान्तिभूमि बनोस् भन्ने आकांक्षा व्यक्त गर्नुभएको हो । उहाँले सबै राष्ट्र, सबै समुदाय मिलेर बस्नु, कतै अशान्ति नहोन्, कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित नगर्ने भन्दै उहाँले मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर सदैव चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
२०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रह गोचर रहेको ज्योतिष विद्हरुले बताएका छन्। नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन्। यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरु देखिने भएपनि साउन १२ गतेबाट कार्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह वक्र रहने भएकोले सरकार कमजोर रहनेछ । यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिएपनि आन्तरिक रुपमा कलह नै रहने बताउनुभयो ।