कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

मुख्य खबर बुधबार चैत्र ३०, २०७८

काठमाडौं । स्थानीय तहको घोषणा पत्रमा समावेश गर्ने विषयबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

महामन्त्री गगन थापा संयोजकत्वमा कांग्रेसले घोषणा पत्र बनाइरहेको छ। विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएर घोषणा पत्र निर्माण गर्ने काम भइरहेका छन्। साथै कांग्रेसले पार्टी समितिहरू, ०७४ मा निर्वाचित जनप्रतिनिधिहरू, सर्वसाधारणबाट पनि घोषणा पत्रका लागि सुझाव माग गरेको छ । कांग्रेसले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। स्थानीयस्तरमा भने उम्मेदवारले प्रतिवद्धता पत्र सार्वजनिक गर्नेछन् ।

यस्तै , नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ । वैशाख २ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सानेपामा बस्नेछ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले आवश्यक रणनीति तय गर्न बैठक बोलाएको हो ।

कांग्रेसले स्थानीय चुनावमा पाँचदलीय गठबन्धन मिलेर जाने सहमति गरेको छ । दलहरूले बनाएका संयन्त्रमार्फत् उम्मेदवार तय हुनेछन् । जिल्ला, प्रदेश र केन्द्रमा पाँचदलीय संयन्त्रबाट साझा उम्मेदवार तय गरिने बताइएको छ ।

Leave a Comment