आचार संहिता लागू भएको नभएको निगरानी गर्ने संयन्त्र सक्रिय

मुख्य खबर बुधबार चैत्र ३०, २०७८

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भएको वा नभएको निगरानी राख्न बनाइएको अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता अनुगमन गर्न केन्द्र, जिल्ला, निर्वाचन क्षेत्रदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्र खडा गरेको आयोगले आचारसंहिताको पालनामा कडाइ गर्न संयन्त्रलाई सक्रिय तुल्याएको जानकारी दिएका हुन् ।

उनका अनुसार चारवटै संयन्त्रले आचारसंहिता पालनाको अनुगमन र कारबाही गर्न सक्नेछ। वैशाख लागेपछि मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त हुने भएकाले आयोगले अहिले त्यो अधिकार हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको छ। आयोगले आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा केन्द्रीयस्तरमा अनुगमन संयन्त्र खडा गरेको छ। सो समितिमा प्रधानमन्त्री कार्यालय, कानुन, गृह र सञ्चार मन्त्रालयका सचिवहरू सदस्य रहेका छन्।

यस्तै , प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् । निर्वाचन आयोगद्वारा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका सबै तयारी पूरा भएर मतपत्र समेत छाप्ने काम भइरहेको अवस्थामा निर्वाचन सारिए त्यो मुलु्कका लागि दुर्भाग्यपूर्ण हुने बताए । उनले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिए । उनले निर्वाचन सार्ने कुराको कल्पनै गर्न नसकिने बताए ।

Leave a Comment