काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामाग्री मतदान केन्द्रमा पठाउने तयारी थालेको छ । विदेशबाट आयात गर्नुपर्ने सामाग्रीपनि आउनेक्रम सुरु भएकाले आएका सामाग्री निर्वाचन केन्द्रमा पठाउने तयारी भईरहेको निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो ।
नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ । यी धेरैजसो सामग्री भारतबाट आएका छन्। चुनावमा ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् ।
आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ मतपेटिका चीनबाट आयात भइसकेको तर अहिलेसम्म आयोगले बुझिनसकेको पौडेलले जानकारी दिनुभयो । यसपालिको पालिका चुनावमा ९५ हजार मतपेटिका प्रयोग हुने अनुमान छ । त्यसमध्ये २५ हजार खरिद गरिँदैछ ।
बाँकी मतपेटिका आयोगसँग मौज्दात छ । मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिदको सम्झौता गरेको थियो । त्यसमध्ये झन्डै १५ प्रकारका सामग्री आयोगले प्राप्त गरेको प्रवक्ता पौडेलले बताउनुभयो । यी सामग्री आवश्यक प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी छ ।