पाकिस्तानी प्रधानमन्त्री खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज र संसद विघटन गर्ने निर्णय बदर

अन्तर्राष्ट्रिय शुक्रबार चैत्र २५, २०७८

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ । हिजो रिटमाथि सुनुवाइ गर्दै अदालतले संसद विघटन गर्ने कदम गैरकानुनी भएको निर्णय गरेको हो ।

बीबीसीले लेखे अनुसार सर्वोच्चले पुर्नस्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन आदेश दिँदै भोलि नै अविश्वास प्रस्तावमाथि मतदान गर्न पनि आदेश दिएको छ । गत आइतवार प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव खारेज भएपछि उहाँले राष्ट्रपतिलाई सिफारिस गर्दै संसद विघटन गर्नुभएको थियो ।

सर्वोच्चको निर्णयलाई विपक्षी दलले स्वागत गर्दै संविधानको जित भएको प्रतिक्रिया दिएका छन् । यता, सर्वोच्चले संसद विघटनलाई बदर गरिदिएपछि प्रधानमन्त्री खानले आज मन्त्रीपरिषदको बैठक बोलाउनुभएको छ । उहाँले आज देशको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Comment