आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदै

मुख्य खबर शुक्रबार चैत्र २५, २०७८

काठमाडौं । १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । आगामी वैशाख १८ सम्म आयोजना हुने यस अभियानले बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ।

देशभरिका ग्रामीण र शहरी क्षेत्रहरूमा ५० हजार भन्दा बढि विद्यालय केन्द्रित खोप केन्द्रहरूमा यो खोप लगाइनेछ। टाइफाइड खोपको देशब्यापी सुरुवातले गर्दा १५ वर्षमुनिका बालबालिकाले निःशुल्क रुपमा यो खोप प्राप्त गर्नेछन्।

यस टाइफाइड खोप अभियानले १५ देखि २३ महिनाका बालबालिकाले अन्य खोप पनि पाए नपाएको निर्क्यौल गर्नेछ र सबै बालबालिका सबै प्रकारको खोप पाई सुरक्षित रहुन् भनि सुनिश्चित गर्न पनि मद्दत पु¥याउनेछ।

साल्मोनेला टाइफीको सङ्क्रमणबाट हुने गम्भीर प्रकारको रोग टाइफाइडबाट नेपालमा बर्सेनि १५ वर्षमुनिका १ लाख ५ हजार बालबालिका सङ्क्रमित हुने गरेका छन् । जसमध्य १ हजार ४२ जनाको मृत्यु हुने गरेको छ । गएको ५ वर्षको सरकारी तथ्याङ्क अनुसार नेपालमा बर्सेनि औसत ४ लाख ५० हजारमा टाइफाइड पुष्टि हुने गरेको छ । पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार बिरामी भएर अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड चौथो पर्ने देखिएको छ । सरकारले टाइफाइड विरुद्धको खोप दिन भएपछि अभिभावक उत्साहित भएका छन् ।

टाइफाइड रोगको सङ्क्रमण सबै उमेर समूहमा हुन्छ । परिवार कल्याण महाशाखाले गरेको पछिल्लो अध्ययनले नेपालमा हाल ८२ हजार ४ सय ४९ जना टाइफाइडका बिरामी रहेको देखाएको छ । सङ्क्रमित हुनेमध्ये ६० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् ।

Leave a Comment