बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला दहन

मुख्य खबर बिहिबार चैत्र २४, २०७८

काठमाडौं । बुटवलमा आज एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । बुटवलको राजमार्ग चौराहाको लखन थापाको शालिकको अगाडि नेपाल मगर युवा संघको एक समूहले पुत्ला दहन गरेको हो ।

ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा पुत्ला दहन गरेको हो ।

२०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले निर्णय गरी लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको भएपनि ओलीले सो विषय खण्डन गर्ने गरी दिएको अभिव्यक्तिले प्रथम शहीद थापा र मगर समुदायको अपमान गरेको भन्दै पुत्ला जलाएको उनीहरुले बताएका छन् ।

बुधबार पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो । विरोध सभा कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले, रुपन्देही जिल्ला सचिव थर्कबहादुर बाह्रघरे, सोनु थापालगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी नमागेसम्म चरणबद्ध आन्दोलन गर्ने बताए ।

Leave a Comment