काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरु चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा जुटेका छन् । अहिले सबै राजनीतिकदलहरु चुनावी नारा बनाउनेदेखि घोषणा पत्र तयारी गर्नेे काममा व्यस्त छन् । हरेक चुनावमा सबैजसो दलको मुख्य कार्यसूची बन्ने गरेको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकको सम्मानको सवाल यसपटक पनि प्राथमिकतामा पर्ने देखिएको छ ।
सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले केन्द्रीय तहमा घोषण पत्र बनाउने जिम्मा महामन्त्री गगन थापालाई दिएको छ । ज्येष्ठ नागरिकलाई सहुलियत दिने लगायतका विषय घोषणा पत्रमा समेट्ने कांग्रेसको तयारी छ । कांग्रेसले गएको फागुन २९ गतेदेखि नै गाउँघरमा पुगेर चुनावको प्रचारप्रसार गर्दै आएको छ । यस्तै, माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई स्थानीय तह चुनावको प्राथामिक एजेन्डा बनाउने भएको छ ।
आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवम् लैङ्गिक समानतालगायतका मौलिक हक कार्यान्वयन पनि समाजवादउन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जाने माओवादीको भनाइ छ । यस्तै, एकीकृत समाजवादी पार्टीले स्थानीय आवश्यकताका आधारमा घोषणापत्र बनाउने जनाएको छ । यसैगरी, नेकपा एमालेले वृद्ध भत्तालाई बढाउनेसहित यसलाई निरन्तरता दिने र प्रभावकारी कार्यान्वयन गर्नेबारे छलफल थालेको छ