काठमाडौं । नेपालको अर्थतन्त्र जोखिमतिर धकेलिन थालेको विज्ञहरुले बताएका छन् । अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउनेदेखि सवारी साधनमा जोरबिजोर लागू गर्नेसम्मको तयारी थालेको छ । विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्यले आयात नियन्त्रणका विषयमा हिजो छलफल गरिएको छ ।
राष्ट्र बैंकले सवारी साधन तथा पार्ट पुर्जा लगायत विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिसकेको छ । अब यो विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा सरोकारवाला निकायका अधिकारीहरूबीच हिजो छलफल भएको छ ।
छलफलमा पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा चल्ने सवारी साधनमा जोरबिजोर लागू गर्ने प्रस्ताव छ । बिहान १० बजे खुल्दै आएका सरकारी कार्यालय अब ९ बजे नै खोल्ने तथा शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिन पनि प्रस्ताव छ ।