अबुधाबी, न्युयोर्क र काठमाडौँको तीन ट्रान्जिटमा भेटिएका युवाका कथा

मुख्य खबर गोविन्द खड्का मङ्लबार चैत्र २२, २०७८

यो काठमाडौँ विमानस्थल हो । विदेश जाने युवाहरू तँछाड-मछाड गर्दै नेपाल छोड्न लामबद्ध छन् । सबैलाई किन विदेश जाने भूत चढेको छ ? कथा र पीडाका खातहरू आफ्ना-आफ्नै छन् ।

काठमाडौँ छाडेपछि कोही खाडी मुलुकहरूमा काम गर्न, कोही अमेरिका पुग्न ! संयुक्त अरब इमिरेट्स युएईको अबुधाबी विमानस्थलमा भेटिएका छन् । त्यही यात्रामा लामो समय राजनीति गरेका युवा मोहन पनि मिसिएका छन् । आफू राजनीति छाडेर विदेश आएको कसैले थाहा पाउलाकी झैँ गरिरहेका उनी चिने जानेका भेटिएपछि भने विदेश पस्नुको पीडा राजनीतिसँगै जोडेर सुनाउँछन् । पन्ध्र वर्ष सम्म राजनीतिमा लागेका उनी उमेरको उर्वर समय खर्च भइसकेपछि जसको कार्यकर्ता भए, उनैले विदेश पठाएको कथा सुनाउँछन् ।

स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै ,ठुला सपनाहरू बोकेर युवाहरू विदेशी रहेका छन् । नेपालको राजनीतिक परिदृश्य र तीनै विदेश हिँडिरहेका युवाहरूका कथामा आधारित नाटक तीन ट्रान्जिट अहिले चलिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम युएनडिपीको सहकार्यमा मण्डला थिएटरमा चलिरहेका नाटकको कथालाई नेपाली युवाहरूको अवस्था र अहिलेको राजनीतिक व्यवस्थासँग मेल खान्छ ।

विदेश जान खोज्ने युवाहरुको आउने जाने क्रम विमानस्थलमा चलिरहेको छ । राजनीतिमा लागेका मात्रै होइन केही सम्भावना बोकेका, सामाजिक कार्यकर्ता, कालाकार युवा पनि विदेश गइरहेका छन् । त्यही सिलसिलामा ट्रान्जिटमा भेट भइरहेको छ । विदेश जाने युवाहरूको कथा र नेपालको राजनीतिक परिदृश्यसँग जोडिएको नाटक तीन ट्रान्जिट मण्डला थिएटरमा चलिरहेको छ ।

निर्देशक सोमनाथ खनालले निर्देशन गर्नु भएको नाटक तीन ट्रान्जिट विदेश आउने र जानेहरूकाबीच भएको विषय केन्द्रित बहस हो । अबुधाबी, न्यु-योर्क र काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलका तीन ट्रान्जिटमा नाटकका दृश्यहरू घुमेका छन् । तीनै दृश्यहरूमा युवाका कथा जोडिएका छन् ।

विगतका राजनीतिक उपलब्धिलाई जोगाउन तथा विद्यमान समस्याको निराकरण गर्न चुनावमय हुँदै गएको राजनीतिक परिदृश्यमा युवाको उपस्थिति र जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने जवाफ नाटक ‘तीन ट्रान्जिट’ ले खोजी गरेको छ ।

नेताको भूमिकामा देखिएका कलाकार बुद्धि तामाङ आफूलाई जिताए देशलाई विदेश जस्तै बनाउँछु भन्दै छोटो भूमिकामा प्रस्तुत भएका छन् । आफूलाई कुर्सीमा बोकेका युवाहरू एकाएक गर्दै बाहिरिएपछि सुरुमा कोही पनि विदेश जानुपर्दैन भनेर भाषण गरिरहेका कालाकार तामाङ अन्तिममा आफ्ना सहयोगी युवाई विदेश जाऊ भन्दै हातमा पासपोर्ट थमाउने गर्छन् । तीनै युवा हुन मोहन । विदेश जाँदा साथमा लगिने सुटकेस विम्बका रूपमा कुर्सीलाई प्रयोग गरिएको छ ।

लामो समयदेखिको राजनीतिक र लोकतान्त्रिक व्यवस्था सुदृढीकरणका निम्ति युवाले गरेको सङ्घर्षको पृष्ठभूमिमा उनीहरूले खेप्नु परेको नियति र विगतका अनेकन् सिकाइका पाटालाई फर्केर हेर्दा आगामी राजनीतिक नेतृत्व छनोट कस्तो हुनुपर्छ ? भन्ने विचार र प्रश्नहरूको जवाफ पनि नाटकमा देखाइएको छ ।

देश हुनलाई के हुनुपर्छ ? देशमा राजनीति हुन्छ विकास हुन्छ तर यो सब हुनका लागि सबैभन्दा पहिला जनशक्ति हुनुपर्छ । देशको सबैभन्दा महत्त्वपूर्ण शक्ति, जनशक्ति देशमा केही भएन भनेर विदेश किन जान चाहन्छन् ? युवामा आफ्नै देशमा बसेर केही गरूँ न भन्ने ज्ञान किन आउँदैन ? यी तमाम प्रश्नहरुको उत्तर नाटक तीन ट्रान्जिटले खोजिरहेको छ ।

पात्रहरुले देशको राजनीति प्रणालीबारे आ–आफ्ना धारणाहरू र भागाईहरु राख्दै जान्छन्। मुलुकका विधमान राजनीति शक्ति र सत्ताले निम्त्याइरहेको विकृतिप्रति नै वितृष्णा झल्कन्छ। मोहन पात्रका माध्यममा नाटकले प्रश्न गर्छ, ‘युवा जमात भोटका लागि मात्र हुन् वा विचारका लागि पनि हुन् भन्ने सवालको जन्म भएको छ । हालको राजनैतिक अवस्था र प्रणालीमा कतै युवा जमात नै त जिम्मेवार छैनन् भन्ने प्रश्न नाटकले गरेको छ। फेरि मोहनले दुःखेसो पोख्दै, ‘जीवनमा पहिलो पटक २५ सय छात्रावृत्तिमा म बिकें। त्यसपछि कैयौं पटक पाँच लिटर पेट्रोल, दुई बोतल बियर, तीन प्लेट सितन, एक थाल मासु र भात अनि एक थान सपनाहरूमा बिकें।’ उनले आफूलाई बिक्रीमा राखेकै थिएनन्। तर हरेक पटक उनले थाहा नै नपाई आफूसँगै थुप्रै युवाहरूलाई बिकाइरहेको महसुस गरे। जुन दृश्यले आफूलाई राजनीतिक कार्यकर्ताका रूपमा चिनाउने युवा जमातको प्रतिनिधित्व गरेको छ।

झुटा आश्वासन र सपना बाँडेर भ्रम छर्न माहिर दलहरु प्रति निर्वाचनमा सचेत हुनु पर्ने समेत कथामा देखाएको छ। मण्डलाका अनुसार शुक्रबारदेखि आगामी वैशाख ४ सम्म नाटकको नियमित मञ्चन हुनेछ।

Leave a Comment