काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबाट प्रतिबद्धता लिएको छ ।
आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई आज आयोगमा बोलाएर आचारसंहिता उल्लंघन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो ।
निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि आयोगले दलहरूसँग छलफल गरी निर्वाचन आचारसंहिता–२०७८ जारी गरेको थियो । त्यही आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता लिइएको आयोगका शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूले प्रतिबद्धता जनाएको बताउनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुषालले पनि आयोगले जारी गरेको आचारसंहितामा हस्ताक्षर गरेर प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरूले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरूले गुनासो राखेको बताउनुभयो । चुनावको समयमा गाडी, मोटरसाइकल ¥याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले नदिने भए पनि दलहरूले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उहाँले बताउनुभयो ।
आचारसंहिता पालना गर्नका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरूले छलफलविनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए ।
यसैबीच, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन आचारसंहितामा प्रतिबद्धतास्वरुप हस्ताक्षर गरेको छैन । बैठकको वातावरण स्वस्थ नभएको भन्दै एमालेका प्रतिनिधिले निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर नगरी बाहिरिएका हुन् । निर्वाचन विभाग उपप्रमुख आचार्यले बैठकमा साना दल र निर्वाचन आयोगका पदाधिकारीबीच अस्वस्थ बहस भएकाले आफूहरू बाहिरिएको बताउनुभयो ।
निर्वाचन आचारसंहितामा एमाले प्रतिबद्ध भएको तर केही कुरा राख्नुपर्ने पनि रहेकाले होहल्लाबीच हस्ताक्षर नगरिएको आचार्यको भनाइ थियो ।