काठमाडौं । प्रधानमन्त्री शेर बहादृर देउवाले काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाहको उद्धघाटन गर्नु भएको छ । । प्रधानमन्त्री देउवाले मंगलबार औपचारिक रुपमा बन्दरगाह सञ्चालनको उद्घाटन गर्नु भएको हो ।
वीरगन्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको छ । अब व्यवसायीले आयात गरेका वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् ।
सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी अब सिधै चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न सकिनेछ । सीमाबाट बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिमको सडक मार्गबाट सामान लैजान आन्तरिक परिवहनको सुविधा दिइनेछ । सुविधा लिन चाहने पैठारीकर्ताले प्रणालीबाटै फारम मुद्रण गरी सीमास्थित भन्सार कार्यालयका अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।
स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह निर्माण सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गर्नु भएको थियो ।
बन्दरगाह निर्माणका शुरूमा छुट्ट्याइएको १ अर्ब ४० करोडबाट १२ प्रतिशत लागत बढेपछि १ अर्ब ६० करोड खर्च भएको छ । निर्माणमा विश्व बैंकले सहयोग गरेको थियो । आशिष र साक्षी ज्वाइन्ट भेन्चरले निर्माणको जिम्मा पाएको थियो ।
बन्दरगाह बनेको ठाउँमा यसअघि हिमाल सिमेन्टको कारखाना थियो । सिमेन्ट उद्योगको १ हजार ५४ रोपनीमध्ये २ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो ।