निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

मुख्य खबर मङ्लबार चैत्र २२, २०७८

काठमाडौं । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ। आज बिहान साढे ११ बजे दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो । छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ । आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ ।

आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ । स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको आयोगका साहयक प्रवक्ता सुर्यप्रसाद अर्यालले बताउनुभयो ।

२०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो। आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो। सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ । आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने जनाएको छ । आयोगले करिब २५ प्रतिशत जगेडासहित सो संख्यामा मतपत्र छाप्न लागेको हो। निर्वाचनका लागि देशभर कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम छन्।

आयोगले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ। आयोगका अनुसार मतपत्र छाप्न करिब २५ देखि २८ दिन समय लाग्नेछ । निर्वाचन आयोगले ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगका अनुसार सबैभन्दा बढी मतपत्र काठमाडौंको हुनेछ भने सबैभन्दा कम डोल्पाको हुने छ । आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ वटै जिल्लामा ७७ प्रकारका मतपत्र छपाइ गर्नेछ ।

Leave a Comment