दिगो विकास र शान्तिको लागि बिमस्टेक सहित निजी साझेदारको आवश्यक- देउवा

मुख्य खबर बुधबार चैत्र १६, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ ।

उहाँले दिगो विकास र शान्तिको लागि बिमस्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपद्लाई परास्त पार्न सकिने धारणा राख्नुभयो । बिमस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनका लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह उहाँले गर्नुभयो ।

साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनु भएको छ । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा भने आएको छैन ।

त्यस्तै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भने, ुजलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको छ। फर्कन नसक्नेगरी आउने संकटभन्दा पहिले नै हामीले कडा कदम चाल्नुपर्नेछ ।

बिमस्टेकको पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको छ । सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् । श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले सम्मेलनको अध्यक्षता गर्नुभएको छ ।

आयोजक श्रीलंकाबाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुभएको छ ।

Leave a Comment