कांग्रेसले चुनावी तालमेल गर्ने नगर्ने भन्नेबारे आज निर्णाय गर्दै

मुख्य खबर सोमवार चैत्र १४, २०७८

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा के कस्तो प्रकारको तालमेल गर्ने वा नगर्ने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । स्थानीय तह चुनावको तयारी, दलहरुबीच तालमेल, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न गत शुक्रवारदेखि सुरु कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलको लागि मापदण्ड बनाउने तयारी गरेको छ । शुक्रवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएपछि यसबारे मापदण्ड बनाउने तयारी भएको हो ।

पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने कांग्रेसको तयारी छ । २०७४ सालको स्थानीय तह चुनावमा ७५३ स्थानीय तहमध्ये कांग्रेसले २ सय ५३ तहमा जितेको थियो ।

महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट तथा नगरपालिका र गाउँपालिकामा स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा तालमेल गर्ने कांग्रेसको तयारी छ । शेखर कोइराला पक्षका नेताहरुले भने कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने बताउँदै आएका छन् ।

विमलेन्द्र निधि लगायतका केही नेताहरु पनि कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् । तर केन्द्रीय समिति बैठकमा बहुमत सदस्यले तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Comment