काठमाडौं । हावाहुरी र सुक्खा मौसम सुरु भएपछि आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । हरेक दिन आगलागी र १०÷१२ ठाउँमा डढेलोका घटना भइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
हिजो एकैदिन रामेछाप, सर्लाही र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । रामेछापमा २२ वटा घरगोठ, सर्लाहीमा १४ घर र दोलखामा दुई घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–८ सल्लेरीको तीनदोबान भिरपाखा, सिन्धुलीको सिन्धुलीमाडी सामुदायिक वनमा डढेलो लागेको छ । यसवर्ष ७७ वटा जङ्गलमा डढेलो लागेको छ । घर तथा जङ्गलमा भएको आगलागीबाट यसवर्ष मात्रै ८८ जनाले ज्यान गुमाएका छन् भने तीन सय ६८ जना घाइते भएका छन् । यी घटनामा २६ सय ६७ परिवार प्रभावित भएका प्राधिकरणको तथ्याङ्क छ ।
झन्डै साढे दुई अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । अघिल्लो वर्ष चैत लागेसँगै नेपालका सयौँ ठाउँमा एकै पटक डढेलो लागेको थियो । एकैदिन पाँच सयभन्दा धेरै ठाउँमा डढेलोका घटना भएका थिए । डढेलोकै कारण फैलिएको प्रदूषणले पोहोर यो बेला चार दिन विद्यालय समेत बन्द गरिएको थियो ।