काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ । बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
त्यसपछि चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम छ। बिहान ११ बजेपछि ओलीसँग भेट हुनेछ भने पौने १२ बजेपछि प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मन्त्री वाङले हिजो प्रधानमन्त्री शेरबारहदुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।भेटमा द्विपक्षीय हितका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रलायले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वाङले चिनियाँ प्रधानमन्त्री ली खस्याङको सन्देश प्रधानमन्त्री देउवालाई सुनाएका थिए।
प्रधानमन्त्री देउवासँगको भेट अघि मन्त्री वाङ र समकक्षी नारायण खड्काबीच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भयो। भेट लगत्तै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर भयो। आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग लगाएतका सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री डा खड्काको निमन्त्रणामा शुक्रबार तीनदिने भ्रमणमा नेपाल आउनुभएका विदेशमन्त्री वाङ आज दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम छ।