काठमाडौं । सानोठिमी क्याम्पस भक्तपुरमा पहिलो पटक ‘छात्रामैत्री कक्ष’ स्थापना गरिएको छ । छात्राहरु महिनावारी हुँदा आउन सक्ने समस्याहरुलाई मध्यनजर गर्दै पहिलो पटक सानोठिमी क्याम्पस भक्तपुरमा ‘छात्रामैत्री कक्ष’को स्थापना गरिएको हो ।
छात्राहरु महिनावारी हुँदा कक्षा नै छोडेर जानु पर्ने र जसका कारण पढाई प्रभावित हुने समस्याहरूलाई मध्यनजर गर्दै र विभिन्न शारिरीक समस्या निम्तदा आराम गर्न, प्राथमिक उपचार गर्न सकिनेगरी छात्रामैत्री कक्षको स्थापना गरिएको क्याम्पसमा अध्ययनरत छात्रा निर्मला शाहले जानकारी दिनुभयो ।
यो कक्षमा कक्षा समयमा महिनावारी हुँदा चाहिने सेनिटरी प्याड, पेन्टी, औषधि तथा प्राथमिक उपचार र शारिरीक जटिलता आउँदा आराम गर्ने व्यवस्था समेतथ गरिएको शाहले बताउनु भएको छ । । उहाँले यो कार्य क्याम्पसमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई अत्यावश्यक भएकाले उनीहरुको साझा हित र कल्याणका लागि भएको बताउनु भएको छ ।
उक्त कक्ष उद्घाटन समारोहमा बोल्दै क्याम्पसकी सहायक प्रमुख भारती अधिकारीले छात्राहरूको अगुवाईमा भएको कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । ‘यो समस्या हरेक छात्रालाई पर्छ । तर यसमा राज्यको खास्सै ध्यान पुगेको अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘छात्राहरूलेनै नयाँ अभ्यास निकाल्नुभएको छ। यो सबै क्याम्पस र विद्यालयमा आवश्यक छ । कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका पदाधिकारी,शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।