कारागार र विमानस्थलका सुरक्षाकर्मीहरुलाई समेत निर्वाचनको सुरक्षामा खटाउने

मुख्य खबर शुक्रबार चैत्र ११, २०७८

काठमाडौं । अपुग हुने भएपछि सरकारले कारागार र विमानस्थलका प्रहरी पनि तानेर निर्वाचन सुरक्षामा खटाउने भएको छ । केन्द्रीय सुरक्षा समितिले निर्वाचन अवधिभर विमानस्थल र कारागार सुरक्षामा सेना खटाउने निर्णय गरेको हो । आगामी वैशाख ३० मा देशभर १० हजार ७ सय ५६ मतदान स्थल (बुथ) मा एकै चरणमा मतदान हुनेछ ।

करिब २३ हजार मतदान केन्द्र (मतपेटिका) व्यवस्थापन गर्न करिब १ लाख १० हजार कर्मचारी खटाउने आयोगको तयारी छ । सुरक्षा गस्ती गर्न करिब ७० हजार सैनिक खटिने छन् । मतदानस्थल तथा केन्द्रको बाहिरी सुरक्षामा ३२ हजार सशस्त्र प्रहरी र भित्री सुरक्षामा ६५ हजार प्रहरी खटाउने सरकारी तयारी छ । भित्री सुरक्षामा प्रहरीको सहयोगमा खटिने गरी १ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको थियो ।

प्रहरीको प्रस्ताव गृह मन्त्रालयले अघि बढाए पनि अर्थले भने बजेट अभाव रहेको भन्दै एक लाख म्यादी मात्र भर्ना गर्न अनुमति दिएको छ । यसरी निर्वाचन सुरक्षामा जनशक्ति नपुग्ने भएपछि कारागार र विमानस्थलबाट पनि प्रहरी तान्न थालिएको हो ।

Leave a Comment